Thursday, July 21, 2016
नक्कली प्रहरी बनेर डेटिङमा रहेका युवायुवतीहरूलाई लुटिएको गुनासो प्रहरीकहाँ
खरामा नक्कली प्रहरी बनेर डेटिङमा रहेका युवायुवतीहरूलाई लुटिएको गुनासो प्रहरीकहाँ नपुगेको होइन, तर मौखिक जानकारी पाएको प्रहरीले त्यस्ता घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको थिएन, न त कसैले लिखित उजुरी नै दिएका थिए । यद्यपि नक्कली प्रहरी बनेर विशेष गरी डेटिङमा रमाइरहेका युवायुवतीलाई लुट्ने एक युवालाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ ।
पोखराका घुम्न र बस्न लायक ठाउँमा प्रहरी हुँ भन्दै मोबाइल र पैसा लुट्ने तथा आफूले भनेको नमाने प्रहरी कार्यालय पुर्याउने धम्की दिने एक व्यक्ति अहिले कास्की प्रहरीको हिरासतमा छ । उसले युवायुवती सामान्य गफगाफ गरेर बस्दा पनि विभिन्न धम्की दिँदै लुट्ने गरेको कास्की प्रहरीले जनाएको छ । ऊ अर्थात् वसन्त थापा पक्राउ परेपछि खुलेका केही घटना :
केही हप्ताअघि मणिपाल शिक्षण अस्पताल नजिकैको सेती नदीको डिलमा एमबीबीएसका एक विद्यार्थी आफ्नी प्रेमिकासँग बसेका थिए । रमाइला कुराकानी र हाँसो–ठट्टा गरिरहेका उनीहरूलाई एउटा चर्को आवाजले झस्कायो । त्यो आवाज अरू कसैको थिएन, त्यही नक्कली प्रहरीको थियो । ‘के गरेर बसेको ?’ पछाडिबाट आवाज आयो, ‘म सिभिल पुलिस हुँ’ त्यो मान्छेले भन्यो । पहिलो घटना जसरी नै उसले पैसा र मोबाइलमा बार्गेनिङ गर्न थाल्यो । नदिए प्रहरी कार्यालयमा पुर्याउने धम्की दिएपछि आफ्नो प्रेम सार्वजानिक हुने डरले पनि उनीहरू आ–आफ्नो मोबाइल दिन बाध्य भए ।
बसेर गफ गर्दैमा प्रहरी हुँ भन्दै मोबाइल माग्नुलाई रहस्यमय मानेर भविष्यका ती डाक्टरले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिए । उनले सेती नदीको डिलमा जे भएको थियो सबै कुरा र मोबाइल लानेको हुलिया पनि निवेदनमा स्पष्ट उल्लेख गरे । युवकको उजुरीपछि प्रहरीले सोधपुछ गरी बुझ्दा मोबाइल लाने व्यक्ति वास्तविक प्रहरी नभै नक्कली प्रहरी भएको खुल्न आयो । त्यही उजुरीका आधारमा प्रहरी आफ्नो सक्रियता बढाउँदै अभियुक्तको खोजीमा जुट्यो ।
केही महिना अघि पोखराका एक सञ्चारकर्मी आफ्नी गलफ्रेन्डसँग कार्कीडाँडा पुगेका थिए । उनीहरू त्यहाँ मायालु गफ गर्दै रमिरहेका थिए । उनीहरूले कुनै अश्लील क्रियापकलाप गरेका थिएनन् । त्यत्तिकैमा एक जना मान्छे नजिकै आएर चर्को स्वरमा ‘के गरेको ?’ भन्दै करायो । एक्कासि त्यसरी आवाज आउँदा उनीहरू झस्किएर आत्तिँदै उठे । ‘म प्रहरी हुँ, यस्तो सार्वजनिक ठाउँमा यसरी बस्न पाइन्छ ? यो केटी तेरो को पर्छे ?’ उसले एकपछि अर्को प्रश्न गर्यो, तर गलफ्रेन्डसँग गएका युवकले नडराई भने, ‘हामीले के गरेका छौं र ? यत्तिकै बस्न पनि पाइँदैन ?’ जवाफ फर्काउन नपाउँदै सादा पोसाकका नक्कली प्रहरीले पैसा नदिए कारबाही गर्ने धम्की दियो । त्यो मान्छेले उनीहरूसँग पैसा माग्यो, नदिए घिसार्दै चौकीमा पुर्याउने बतायो ।
चौकीमा लाने धम्की सुनेपछि उनीहरूले प्रहरीको झमेलामा फस्नुभन्दा केही रकम दिएर त्यहाँबाट उम्कन उपयुक्त माने । ती सञ्चारकर्मीले यो घटनाका सम्बन्धमा प्रहरीलाई जानकारी दिन सक्थे तर प्रेमिकाले बेकार झमेला नगरौं भनेपछि रकम दिएको उनको तर्क छ ।
यसबीच जुन हुलियाको व्यक्तिको खोजी जिल्ला प्रहरी कास्कीले गरेको थियो त्यही हुलियाको व्यक्ति समातिएको खबर इलाका प्रहरी कार्यालय, शिसुवाबाट आयो, जुन लेखनाथ नगरपालिकामा पर्छ । खबर पाएलगत्तै कास्की प्रहरीको एउटा टोली लेखनाथ पुग्यो । त्यहाँ पुगेपछि टोलीले नक्कली प्रहरी हुँ भनेर मोबाइल तथा पैसा लुट्ने व्यक्ति रोल्पाको धाबाङ–४ का ३६ वर्षीय वसन्त थापा हुन् भन्ने प्रमाणित गर्यो ।
कसरी पक्राउ पर्यो ?
पक्राउ परेको केही दिनअघि थापाले लेखनाथको विजयपुरनजिक एक होटलमा साथीहरूसँग लोकल रक्सी र मासु खाएको थियो । टन्न रक्सी र मासु खाएपछि ऊसँग बिल भुक्तान गर्ने पर्याप्त पैसा भएन । अन्त्यमा उसले मोबाइल धरौटी राख्यो । ‘भोली पैसा ल्याउँछु अनि मोबाइल लान्छु’ भन्दै साथीहरूलाई लिएर ऊ त्यहाँबाट निस्कियो, तर भोलिपल्ट होटलमा पैसा तिर्न आएन । केही दिन कुरेपछि होटल सञ्चालकले अफ रहेको उक्त मोबाइल अन गरे ।
अन गरेको केही घण्टामै मोबाइलमा फोन आयो ।फोनमा लेखनाथ, कालिकाकी एक महिलाले उक्त मोबाइल आफ्नो भएको बताइन् । थापाले छोडेको मोबाइल एक महिलाले मेरो हो भनेपछि होटल सञ्चालकले शिशुवा प्रहरीमा खबर गरे । शिशुवाका प्रहरी प्रमुख मित्रबहादुर आचार्यले उक्त व्यक्ति होटलमा आए खबर गर्न भने ।
एक दिन थापालाई सडकमा टहलिरहेको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । तुरुन्तै प्रहरी आएर थापालाई पक्राउ गर्यो । प्रहरीले कालिकाकी ती महिलालाई फोन गरेर बुझ्दा उनले आफ्नी छोरीको आइफोन र पर्स केही दिनअघि लुटिएको जानकारी दिइन् । कास्की प्रहरीका अनुसार थापाले अन्य ठाउँबाट पनि युवायुवतीको जोडीलाई पुलिस हुँ भन्दै लुटेको जानकारी दिएको छ । अहिले थापा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छ । उसले डेटिङ स्पोर्टबाट ३० भन्दा बढी जोडीलाई लुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
अभियुक्त थापाले जोडीहरू बसेको ठाउँमा गै सामान चेकजाँच गर्नुपर्यो भन्दै डर त्रास देखाई मोबाइल सेट जबरजस्ती लुट्ने गरेको पाइएको डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । युवायुवती जोडी लुटिने भए पनि धेरैजसो अनेकन झमेलामा फसिने डरले प्रहरीलाई जानकारी वा उजुरी दिन सक्दैनथे, जसले गर्दा थोरै घटना मात्र प्रहरीकहाँ पुग्थे । पोखरामा विशेष गरी पस्र्याङ लभ्लीडाँडा, मणिपालपछाडि, पृथ्वीनारायण क्याम्पसको सेती नदीको डिल, काहुँखोला, कार्कीडाँडा, दोबिल्ला, वसुन्धरा पार्क, फेवाताल किनार, वेगनास ताल, रूपा तालको छेउछाउ, सराङकोट, छोरेपाटन माथि स्तूप क्षेत्रमा बेला–बेलामा
यस्ता लुटपाटका घटना हुने गरेका थिए ।






0 comments:
Post a Comment